तपाईँ सुन्दै हुनुहुन्छः

यसो भन्छन् जेनजी प्रर्दशनका घाइतेहरु

काठमाडौँ । काठमाडौँमा पढाइसँगै पार्ट टाइम काम गर्दै आउनुभएका कैलालीका २२ वर्षीय आदित्य रावलले भदौ २३ गते सोमवार भने आफ्नो दैनिक कार्यलाई थाती राख्दै जेनजी प्रदर्शनमा सहभागी हुने निर्णय गर्नुभयो । सामाजिक सञ्जाल टिकटकमा भ्रष्टाचार, नेप्पोकीड्सविरुद्ध यत्रतत्र आह्वान गरिएको जेनजी प्रदर्शनको खबर पाएका रावल कामबाट बिदा मागेरै प्रदर्शन स्थलतर्फ लाग्नुभयो ।

सुरुमा साथीहरूसँग शान्तिपूर्वक नाच्दै गाउँदै माइतीघरदेखि बानेश्वरतर्फ बढेको प्रदर्शनमा विभिन्न समूहहरू थपिने क्रम बढ्दै गएको र संसद् भवन अघि पुगेपछि अनपेक्षित रुपमा प्रदर्शन द्वन्द्वमा बदलिएको रावल सम्झनुहुन्छ । 

गोडामा तीन वटा गोली लागी अचेत अवस्थामा निजामती अस्पतालमा उपचारका लागि पुर्‍याइएको रावललाई आफ्नै आँखा अघि साथीहरू गोलीको सिकार भएपछि उनीहरुलाई बचाउन जाँदा आफूलाई पनि गोली लागेकोसम्म याद छ । 

उनी भन्छन् “आँखै अघि मेरो साथी भाइहरू ढले, त्यो दृश्यले के गरूँ कसो गरूँ भयो, त्यसपछि ज्यानको मायाँ त लाग्छ तर जेसुकै होस् भनेर ढलेका साथीलाई उठाउन गएको थिए त्यै वेला मलाई पनि गोली लाग्यो, अस्पतालको बेडमा बिउँझेर थाहा भयो मलाई तीन वटा गोली लागेको रहेछ ।”

प्रदर्शनमा सहभागी अधिकांश युवाहरू बढ्दो भ्रष्टाचार र बेरोजगारीको विरुद्ध युवा समूहले सामाजिक सञ्जालमा चलाएको ट्रेन्डबाट प्रभावित भएर स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका थिए । अस्पतालमा उपचाररत पाटनका २२ वर्षीय बेकम देउलाले देशमा परिवर्तन गर्नका लागि आफूहरूको सहभागी हुन आवश्यक ठानेको बताउनुभयो । देउला भन्छन् “टिकटकमा ट्रेन्डिङ नै थियो करपप्सन र नेप्पोकीड्सविरुद्ध प्रोटेस्टमा जाने भनेर, त्यो देखेपछि हामी जाँदा देशमा चेन्ज आउँछ भने जानुपर्छ भनेर म पनि गएको हुँ।” 

यस्तै बनेपा घर भएका १९ वर्षीय सुवास दाहालले पनि प्रदर्शनको समूह बानेश्वर हुँदै संसद् भवन नजिक पुग्दासम्म पानीको फोहोरा र ढुंगामुढा गर्ने क्रम बढ्दै जाँदा एकजनालाई गोली लागेपछि भीड अनियन्त्रित भएको र धेरैलाई गोली लागेको बताउँछन् । उनी भन्छन् संसद् भवन अगाडी एकजना साथीलाई गोली लागेपछि हामी सबै आक्रोशित भयौँ, जुनबेला संसद् भवन अघि हात उठाएरै गयौ तर गोली चल्यो, मलाई पनि एक गोली लागेपछि आफु सुरक्षित हुने ठाउँ खोज्न खोल्च्याउदै अघितिर हिँड्दा दाइहरूले देखेर सहयोग गर्न आउनुभयो अनि अस्पताल पुर्‍याइ दिनुभयो । 

युवाहरूको आक्रोशमा परी राष्ट्रका ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदा, भवन लगायतका महत्वपूर्ण भौतिक संरचना र नीजि क्षेत्रको ठूलो लगानी समेत खरानी भएको छ । स्वतःस्फूर्त निस्केको भिडले उचित मार्गदशन पाउन नसक्दा प्रदर्शन अनियन्त्रित भई देशको ठूलो क्षति हुन पुगेको प्रदर्शनका केही जेनजीहरु स्पष्ट छन् । युवाहरूलाई उचित शिक्षा,संस्कारसँगै राज्य व्यवस्था र राजनीतिक प्रणालीका बारेमा समेत सचेतता अभिवृद्धि गराउन जरुरी रहेको प्रदर्शनका घाइते आदित्य रावल बताउँछन् । 

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइते भएकाहरूले देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम हुनुपर्नेमा जोड दिनुका साथै भ्रष्टाचारको अन्त्य, स्वदेशमै रोजगारी र  अवसरको सिर्जना हुनुपर्ने माग राखेका छन् । यद्यपि नेतृत्वविहीन प्रदर्शन र जेनजी मात्र नभई प्रदर्शनका विभिन्न समूहहरू चौतर्फी रुपमा सडकमा उत्रिएका प्रदर्शनकारीका कारण मुलुकभर ठूलो मात्रामा जनधनको क्षति भएकोमा दुःखी पनि छन् ।

जेनजी पुस्ताको निराशासहितको आक्रोश मिसिएको प्रदर्शनले २७ घण्टामै मुलुकलाई अपुरणीय क्षति पुगेको छ । अव देशलाई पुनर्जीवन प्रदान गर्न युवा जेनजीका आवाजलाई महत्व दिँदै सबै मिलेर अघि बढ्नुको विकल्प छैन ।

यसो भन्छन् जेनजी प्रर्दशनका घाइतेहरु (अडियो रिपार्ट)


प्रतिक्रिया राख्नुहोस्

Back to top button