तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटाका दुई सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाइयो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइएको छ ।

सङ्गठित रूपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वन क्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा आज उनीहरूलाई हटाएको हो ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरूले झुपडी बनाउन थालेका थिए । “असहज परिस्थितिको फाइदा उठाउँदै सङ्गठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन जोगाएका छौँ,” उहाँले भन्नुभयो ।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उहाँले बताउनुभयो । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो । उल्टै अतिक्रमणकारीहरूले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पुर्‍याएका थिए ।

“हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,” निर्देशक विष्टले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button