तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा पूर्व विद्यार्थी नेताहरूको जोड

काठमाडौँ । विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्व अध्यक्षलगायतका विद्यार्थी नेताहरूले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । 

उनीहरूले आज प्रेस विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्व अध्यक्ष नबिना लामा र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरू तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरूप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ ।”

देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरू जेलबाट भागेको र तिनीहरूले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिन जोडदार माग पनि गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button