जनजीवन सहज बनेसँगै बारामा कर्फ्यु हट्यो
'बीरगन्ज लगायत पर्साको जनजीवन सामान्य बन्दै'

वीरगञ्ज। जनजीवन सहज बनेसँगै बारामा आज बिहान देखी जारी गरिएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले भदौ २६ गते बिहान ६ बजेदेखि कर्फ्यु आदेश फिर्ता लिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार भदौ २४ गतेदेखि सुरक्षागत कारणले लगाइएको कर्फ्यु अब आवश्यक नरहेको ठहर गर्दै हटाइएको हो ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले पहिलो पटक भदौ २४ गते दिउँसो २ बजेदेखि राति ८ बजेसम्म कलैया र जीतपुरसिमरा उपमहानगर क्षेत्रमा कर्फ्यु जारी गरेको थियो । त्यसपछि स्थिति थप संवेदनशील बनेपछि भदौ २५ गते बिहान ६ बजेदेखि जिल्लाभर नै कर्फ्यु लगाइएको थियो । सो दिनदेखि नै सेनासमेत सडकमा परिचालन गरिएको थियो ।
प्रशासनले आज सूचना जारी गर्दै जिल्लामा निषेधाज्ञा वा कर्फ्यु आदेश कायम नरहेको स्पष्ट पारेको छ ।
तर, जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता लगायतका सम्पूर्ण सेवाहरू हालको लागि बन्द रहने समेत जनाइएको छ ।
यसैगरी वीरगंज लगायत पर्सा जिल्लामा पनि जनजीवन सामान्य बन्दै गएको छ । जनजीवन सामान्य बन्दै गएपछि आज बिहान बसेको सुरक्षा समितिको बैठकले अनिश्चितकालिन कर्फ्यु आदेशलाई खुकुलो बनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजे देखि १० बजे सम्म निषेधाज्ञा १० बजे देखि बेलुका ५ बजेसम्म कर्फ्यु बेलुका ५ बजे देखि साँझ ७ बजेसम्म निषेधाज्ञा र राती ७ बजे देखि बिहान ६ बजेसम्मकालागि पुन कर्फ्यु आदेश जारी गरेको छ ।
निषेधाज्ञाको समयमा सर्वसाधारणले आफ्नो दैनिक आवश्यकताका सामानहरू खरिद गर्न सक्ने ५ जना भन्दा बढी भेला नहुने गरी हिँडडुल गर्न सक्ने समेत जनाइएको छ ।
जनजीवन सहज बनेसँगै वीरगंज महानगरपालिकाले आज बिहानै देखि नगर क्षेत्रको सरसफाइलाई तीव्रता दिएको छ ।
भदौ २४ गते व्यापक रुपमा भएको तोडफोड र आगजनीको फोहोरलाई उठाउने काम भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्