तनहुँ कारागारबाट फरार तीन कैदीबन्दी पक्राउ
दमौली,तनहुँ । तनहुँ कारागारबाट फरार भएकामध्ये तीन जना कैदीबन्दी पक्राउ परेका छन् । दुई जना कास्कीबाट र एक जना तनहुँबाट बुधबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
मङ्गलबार राति ३२७ कैदीबन्दी यहाँबाट फरार भएका थिए । फरार भएका कैदीबन्दीको खोजतलास भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही कैदीबन्दी बाहिरभन्दा भित्रै रमाउने खालका पनि छन्, उनीहरू आफैँ सम्पर्कमा आउने सम्भावना छ । अन्यको पनि खोजी भइरहेको छ ।”
जनजीवन सामान्य बनाउन विभिन्न सङ्घसंस्थाको आग्रह
जेनजीको प्रदर्शनपछि उत्पन्न भएको परिस्थितिलाई सामान्य बनाउन सबैसँग आग्रह गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ तनहुँ, महिला मानव अधिकार रक्षक सञ्जाल र नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँले बुधबार संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको समयमा भएको यस घटनाबाट जनजीवनमा पर्न गएको असरलाई मध्यनजर राखी जनजीवन सहज बनाउन सम्बन्धित पक्ष, अभिभावक, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार साथै बुद्धिजीवी सबैले पहल गर्नु आवश्यक रहेको जनाइएको छ ।
जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्र, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष कल्पना पौडेल र नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष बसुन्धरा घर्तीले संयुक्त विज्ञप्ति जारी गरी आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षसँग हार्दिक आग्रह गरिएको छ ।
चित्त नबुझेका विषयमा आफ्नो विमति राख्नु, विद्रोह गर्नु लोकतन्त्रमा नागरिकको अधिकार भएको भन्दै विज्ञप्तिमा यसको नेतृत्व गरेको जेनजी पुस्ता संयम र जिम्मेवार बन्न, ध्वंस र अराजकताबाट टाढा हुन र यस्ता आन्दोलनमा हुने घुसपैठ एवं अवाञ्छित गतिविधिहरू रोक्नका लागि सक्रिय बन्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो देश नेपाल अहिले विषम परिस्थितिमा गुज्रिएको छ । पछिल्ला दिनहरूमा भएको प्रदर्शन र त्यस क्रममा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ ।
प्रतिक्रिया राख्नुहोस्