धुलिखेल कारागारको आगलागी दुई घण्टापछि नियन्त्रण
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित जिल्ला कारागारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ ।
कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दमकल प्रयोग गरेर कारागारमा भएको आगजनी नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कारागारमा आगजनी गरेपछि बाहिर ठुलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालिएको शाहले बताउनुभयो । उहाँका अनुसार हाल कारागारमा रहेका दुई सय ८३ कैदीबन्दी सुरक्षित रहेका छन् । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।
कारागारभित्र नारा जुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीले बताएको छ । सोही क्रममा उनीहरूले आगजनी गरेको सुरक्षाकर्मीको भनाइ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्