वीरगन्जसहित बारा पर्साको जनजीवन सामान्य बन्दै
वीरगन्ज । देशको प्रमुख नाकाको रूपमा रहेको वीरगन्ज रक्सौल नाका गए राति बाट पूर्ण रूपमा बन्द भएको छ ।
नेपालमा भएको पछिल्लो घटनाका कारण वीरगन्ज रक्सौल नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ भने भारतीय नागरिकहरूलाई समेत नेपाल प्रवेश गर्न रोकिएको छ ।

वीरगन्ज रक्सौल नाकाबाट भारत प्रवेश गर्न खोजेका नेपालीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले फर्काएको छ । नेपालको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै भारतले नेपाली नाकाहरूमा कडाइ गरेको छ । नेपालसँग जोडिएका नाकाहरूबाट भारतीयलाई समेत आधार कार्डबिना प्रवेशमा रोक लगाएको छ ।
भारत तर्फबाट प्राप्त आदेशका आधारमा रोक लगाइएको र नेपालका विभिन्न कारागारबाट कैदीबन्दी भागेपछि उनीहरू सीमा हुँदै भारत पस्न सक्ने आशङ्काले सुरक्षामा कडाइ गरिएको बताइएको छ । अहिले भारतबाट नेपाल आउन खोज्ने नेपाली नागरिकहरू समेत सिमानाकामा रोकिएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जानकारी दिनुभयो ।
यसैबिच गए राति देखि सेना परिचालन गरिए पछि पर्सामा वीरगन्ज कारागारमा बाहेक अन्य स्थानमा सुरक्षा अवस्था सामान्य बन्दै गएको छ ।
नेपाली सेनाले गए राति देखिनै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई साथमा लिएर संयुक्त रूपमा बजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएका छन् । मङ्गलवार देखी नै अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरिएको कारण अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
अहिले वीरगन्जसहित पर्सामा जनजीवन सामान्य बन्दै गइरहेको र प्रदर्शन नाराबाजी जस्ता गतिविधि कहीँ कतै नभएको पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्