वीरगन्जमा हैजा र झाडापखाला सङ्क्रमण नियन्त्रणमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला र हैजा सङ्क्रमण नियन्त्रणमा आएको छ ।
४८ घण्टा यता वीरगन्जमा हैजा संक्रमित थपिएका छैनन् । तथ्यांकअनुसार आइतबार बिहान १० बजेसम्म वीरगन्ज महानगरमा २ दिन यता हैजा संक्रमित नभेटिएको वीरगन्ज महानगर कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

वीरगन्जमा हालसम्म १ सय ९२ हैजा संक्रमित भएकामध्ये १ सय ८५ उपचारपछि घर फर्किएका छन् । ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
२ दिनमा महानगरका विभिन्न अस्पतालमा झाडापखालाका १२ बिरामी मात्र सम्पर्कमा आएको भए पनि उनीहरूमा हैजा सङ्क्रमण नभेटिएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।
नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले पूर्वानुमान गरिएजस्तै हैजा संक्रमण बिस्तारै न्यून हुँदै गएको बताउँदै २ दिनमा एउटा पनि नयाँ संक्रमित नथपिनुले पनि यस्तै सङ्केत गरेको उहाँले दाबी गर्नुभयो । तुलनात्मक रुपमा झाडापखालाका नयाँ बिरामीको सङ्ख्या पनि दैनिक कम हुँदै गएकाले अबको केही दिनमा झाडापखाला र हैजा दुवैका बिरामी थपिने दर पनि करिब बन्द हुने उहाँको भनाइ छ ।
चिकित्सकहरूले सङ्क्रमण नियन्त्रणमा आए पनि व्यक्तिगत सरसफाइ, उमालेको पानीको प्रयोग र हात धुने बानी अपनाउन सुझाएका छन् । नारायणी अस्पतालका डा. नीरज सिंहले हैजा हावाबाट नफैलिने र सरसफाइमा ध्यान दिए पूर्ण रूपमा जोगिन सकिने बताउनुभयो ।
सङ्क्रमण नियन्त्रणका लागि महानगरले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी स्वास्थ्यकर्मी परिचालन, जनचेतना अभियान, खानेपानीको क्लोरिनेसन र ट्याङ्की सरसफाइलाई तीव्रता दिएको छ । पानीपुरी, चाटजस्ता स्ट्रिट फुडमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्