एमाले विधान महाधिवेशन तेस्रो दिन आज पनि जारी
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउने व्यवस्था पार्टी विधानमै समेट्न प्रतिनिधिको सुझाव
ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तेस्रो दिन आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमाथिको समूहगत प्रस्तुतीकरण सकिएको छ ।
छलफलका लागि बनाइएका विभिन्न १० वटा समूहको सुझावसहित प्रस्तुति सकिएपछि साङ्गठनिक प्रतिवेदनमाथि पार्टी महासचिव पोखरेलले जवाफ दिइरहनुभएको छ ।

त्यसैगरी विधान मस्यौदामाथि उठेका प्रश्नको विधान मस्यौदा समितिका संयोजक एवम् पार्टी उपाध्यक्ष पौडेलले पनि उठेका जिज्ञासाको जवाफ दिनुभएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा सहभागीहरूले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन नमिल्ने व्यवस्था पार्टीको विधानमै समेट्न सुझाव दिएको जानकारी दिनुभयो ।
त्यसैगरी पार्टी सरकारमा हुँदा ठूला विकास आयोजनाका काम तीव्र रुपमा अघि बढाउनुपर्ने, शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा युवाहरूलाई आकर्षण गर्नेजस्ता लोकप्रिय काम गर्नका लागि पार्टीले समृद्धि सम्मेलनको आयोजना गर्न पार्टीलाई महाधिवेशनमा सहभागी प्रतिनिधिले समूहगत प्रस्तुतिमा सुझाव दिएको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
महाधिवेशनको अन्तिम दिन आज अन्त्यमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन समापन गरिने एमालेले जनाएको छ ।
महाधिवेशनले एमाले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि आजै सम्पन्न गरी नयाँ नेतृत्व चुन्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्