तपाईँ सुन्दै हुनुहुन्छः

चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन

गोदावरी,कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता भएको छ वर्ष बितिकेको छ, तर यहाँ कामले गति लिन सकेको छैन । 

ठेकेदारको लापरबाहीका कारण सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत अन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम सुस्त छ । भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अढाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एड्भेञ्चर गेगिङ सन्लाइट जेभिसँग रु पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरिए पनि काम हुन नसकेको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीले बताउनुभयो । छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालन र दैनिक आवागमनमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । 

पूर्वाधार कार्यालय धनगढीले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदा चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप तीन किलोमिटर सडक कालोपत्रेको काम पनि हुन सकेको छैन । यो सडक निर्माणका लागि विसं २०७९ चैत १८ मा १८ महिनामा काम सुक्ने गरी तेडी निर्माण सेवासँग रु पाँच करोड ७६ लाख भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो । 

चौकीडाँडा–ओलानी–फल्टुडे सडकको काम क्रमागत योजनाअन्तर्गत अघि बढे पनि कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित छन् । गोदावरी नरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले सडक निर्माणका लागि सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने बताउनुहुन्छ । सम्झौताअनुसार काम अगाडि नबढेपछि स्थानीय जनप्रतिनिधि सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

काम अगाडि बढ्नुपर्ने मागसहित वडा नं ३, १०, ११ र १२ का जनप्रतिनिधिले सडकमै वडा कार्यालय राखेर साङ्केतिक विरोधसमेत जनाएको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद भट्टले बताउनुभयो । वडाध्यक्षहरूले चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण काम अगाडि नबढेको भन्दै सडकबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।  

गोदावरी नगरपालिकाको वडा नं १०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास रहेको छ । यो सडक अत्तरियादेखि फल्टुडे पुग्ने भीमदत्त लोकमार्गभन्दा छोटो छ । यो सडक बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button