तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली बिहे गराई ठगी गर्ने दुई जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । 

फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट नक्कली आमाबाबु, छोरी बनेर नगद र गरगहना लिने मनसायले ठगी गरेको उजुरी परेपछि प्रहरीले वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दैलेख साँडु घर भई वीरेन्द्रनगर–१०, बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद–३, घर भई वीरेन्द्रनगर–१०, बस्ने वर्ष ३८ को भविसरा रास्कोटी मगर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) मोहनजंग बुढ्थापाका अनुसार एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । उनीहरूको साथबाट बिहेमा प्रयोग हुने कपडा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरू बरामद भएका छन् । 

पक्राउ परेका विक र मगर आमाबाबु बनेर ठगी गरेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button