प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक टेबुल
लबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ लाई दफावार छलफलका लागि विषयगत समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक टेबुल भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभयो । उक्त विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकले नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त विधेयक सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।
यस्तै, प्रतिनिधिसभाले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भन्ने कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्