जीर्ण कारागारमा क्षमता भन्दा तेब्बर कैदिबन्दी, व्यवस्थापनमा समस्या
बाजुरा । जिल्ला कारागार बाजुराको पुरानो भवन पुनः निर्माण नहुँदा जीर्ण बनेको छ। २०३७ सालमा निर्माण भएको यो भवन करिब ४५ वर्ष पुगिसक्दा पनि नयाँ संरचना थप्न नसकिएको कारण कैदीबन्दी व्यवस्थापनमा गम्भीर समस्या देखिएको हो।

कारागारका प्रशासक अनिल कुमार तिवारीका अनुसार कारागारको क्षमता २५ जनाको भए पनि हाल ६५ जना कैदीबन्दी राखिएको छ। क्षमता भन्दा बढी कैदी हुँदा बस्न, सुत्न र दैनिक जीवनयापनमै असुविधा भएको उहाँको भनाइ छ। कैदीबन्दीलाई राख्न अर्को भवन नभएकाले बाध्यतावश जीर्ण भवनमै राख्नुपरेको प्रशासक तिवारीको गुनासो छ।
जीर्ण अवस्थामा पुगेको भवनले कैदी मात्र नभई सुरक्षाकर्मीलाई समेत समस्या दिएको छ। कारागार परिसरमा सुरक्षाकर्मीका लागि छुट्टै क्वार्टर नभएकाले पनि समस्या हुने गरेको छ।

कैदीबन्दीहरूले पनि भूकम्प वा अन्य विपत्तिको समयमा जीर्ण भवन सुरक्षित नहुने गुनासो गरेका छन्।
प्रशासक तिवारीका अनुसार कारागारको नयाँ भवनका लागि टेन्डर भइसकेकाले केही समय भित्रै निर्माण कार्य सुरु हुने छ। नयाँ भवन निर्माण भएपछि मात्र कैदीबन्दीलाई सहज र सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्