सडकबाट घरसम्मको यात्रा: राजु अधिकारीको जीवनकथा
मकवानपुर। सडकमा बिताएको बाल्यकाल, लागू औषध र असामाजिक गतिविधिमा डुबेको जीवन… यही अवस्थाबाट उदाएका हुन् राजु अधिकारी। हेटौंडामा सडक बालकको रूपमा रहेका उनलाई २०६८ सालमा मामाघर नेपालले उद्धार गरी संरक्षणमा लिएको थियो।

संस्थाले उनीलाई शिक्षा र विभिन्न सिपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन प्रयास गर्यो। खेलकुदमा लागेको बेला राजु हकिको राष्ट्रिय खेलाडीसमेत बने। तर उनको चाहना भने आफ्नै घरको थियो। यही लक्ष्य बोकेर उनी रोजगारीका लागि कतार पुगे। कठिन श्रमपछि संचित कमाईले अन्ततः उनको सपना पुरा भएको छ।
हालै हेटौंडा–११ डाङ्गडुङ्गेमा चार कोठे घर बनाएर उनले गृहप्रवेश गरेका छन्। कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीना कुमारी लामाले प्रमुख आतिथ्य ग्रहण गरेकी थिइन्। मामाघर नेपालले यसलाई केवल राजुको व्यक्तिगत उपलब्धि नभई सामाजिक रुपान्तरणको उदाहरणका रूपमा लिएको छ।

संस्थापक अध्यक्ष अर्पण पराजुलीका अनुसार हाल संस्थामा २४ जना असहाय बालबालिका संरक्षणमा छन्। हेटौंडा उपमहानगरपालिकाले संस्थाको अक्षय कोषका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ।
राजु अधिकारी भन्छन्, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो। मैले देखेको सपना पुरा भएको छ।”
प्रतिक्रिया राख्नुहोस्