तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम आउने गरी काम गर्न निर्देशन

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्रालयले विगतमा गरेको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा परिणाममुखी काम गर्न निर्देशन दिनुभएको हो । 

उहाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को पहिलो संशोधन विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । 

मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदा निर्माण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकाय, नागरिक समाज सङ्घसंस्था तथा पीडित/प्रभावितसँग छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिने तयारी गरेको छ । 

मन्त्रालयले पछिल्लो एक वर्षमा करिब ६० जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको जनाएको छ ।

एक वर्षमा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार पीडित÷प्रभावित ७७ महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button