तपाईँ सुन्दै हुनुहुन्छः

विदेश जाने मोह त्यागेर सार्वजनिक सेवामा आउन आयोगका अध्यक्ष रेग्मीको आव्हान  

सुर्खेत । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले स्वदेशमै बसेर सार्वजनिक सेवामा प्रवेश गरी स्वाभिमानका साथ देशको सेवामा लाग्न युवालाई आव्हान गर्नुभएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ को अवसर पारेर आयोजना गरेको ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष रेग्मीले विदेश जाने कुरालाई प्राथमिकतामा नराखी स्वदेशमै बसेर सरकारी सेवामा योगदान गर्न युवालाई आव्हान गर्नुभयो । 

लोकसेवा आयोगको निष्पक्षता, पारदर्शिता र जबाफदेहीताकै कारण आयोगप्रति अधिकांश युवाको आकर्षण बढिरहेको बताउँदै उहाँले पछिल्लो एक वर्षमा विभिन्न पदहरूका लागि करिब पाँच लाख युवाहरूको आवेदन परेको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जुम्ला रुकुम पश्चिम, जाजरकोट, सल्यानलगायतका युवाहरूको समेत लोक सेवा आयोगमा उच्च सहभागिता रहेको छ । 

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले अध्ययन सकेर लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरूलाई राष्ट्रको सेवा गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । 

सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले निष्पक्षता, पारदर्शिता नै लोकसेवा आयोगको विश्वसनीयता भएकाले यसको साख जोगाई राख्न आग्रह गर्नुभयो । 

लोक सेवा आयोग केन्द्रीय कार्यालयका सह–सचिव पुरुषोत्तम शर्माले लोक सेवा आयोगको ऐतिहासिक विकास क्रम, संवैधानिक एवं कानुनी व्यवस्था र आयोगको कार्य प्रक्रियाबारे जानकारी गराउनुभयो । 

लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले आयोगको विकास र आयोगबाट सञ्चालन हुने गतिविधि तथा परीक्षा प्रक्रियासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा आयोगका सदस्य दिनेश सिलवाल, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) माधवकुमार श्रेष्ठ, रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, कर्मचारी तथा कक्षा ११ र १२ वा सोभन्दा माथि अध्ययनरत करिब एक सय जना युवा विद्यार्थीहरूको सहभागिता रहेको आयोगको सुर्खेत कार्यालयका सह–सचिव आनन्द पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button