तपाईँ सुन्दै हुनुहुन्छः

बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ जारी

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ ।

प्राधिकरणले मङ्गलवार (भाद्र १७ गते) जारी गरेको निर्देशनको अधीनमा रहेर बीमकले ‘लगानी नीति’ सञ्चालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ ।

बीमकलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, बीमकको लगानी विविधीकरण हुने गरी विभिन्न क्षेत्रमा लगानी सक्ने व्यवस्था गर्ने, बीमकको तरलता तथा सम्पत्ति र दायित्वको अवधि मिल्ने गरी लगानी व्यवस्थापन गर्ने र बीमकको लगानी सम्बन्धी आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले निर्देशन जारी गरिएको हो ।

बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ मा भएका मुख्य मुख्य व्यवस्थाहरू :

(१) बीमकलाई सरकारी सुरक्षण पत्र र नेपाल राष्ट्र बैङ्कबाट जारी हुने ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू नहुने,

(२) जीवन, निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणबाट पूर्वस्वीकृति लिएर कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डारण गृह, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण, शिक्षा तथा स्वास्थ्य र लगानी कम्पनी लगायतका क्षेत्रमा व्यवसाय गर्नका लागि कूल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म सहायक कम्पनीमा लगानी गर्न सक्ने,

(३) बीमकको सञ्चालक समितिका अध्यक्ष वा सदस्य वा निजका एकाघर परिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्ने,

(४) बीमक आफैले संस्थापना गर्ने सहायक कम्पनीमा लगानी गर्नका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त गरेको मितिले एक महिनाभित्र लगानी गरिसक्नुपर्ने,

(५) सहायक कम्पनीले निष्कासन गर्ने कुनै पनि सुरक्षण पत्रहरू तथा उपकरणमा बीमकले लगानी गर्न नपाउने,

(६) बीमकले घरजग्गा व्यवसायमा रहेको लगानीको कम्तीमा प्रत्येक तीन वर्षमा एक पटक मूल्याङ्कन गर्नुपर्ने,

(७) बीमकले कूल लगानीका आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने,

(८) बीमकले बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्दा नेपाल राष्ट्र बैङ्कले तोकेको पूँजीकोष कायम गरेको हुनुपर्ने,

(९) बीमकले लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्ने,

(१०) बीमकले लगानी गर्दा बिमा सम्बन्धी दायित्वको अवधिलाई ख्याल गरी लगानी गर्नुपर्ने,

(११) जीवन बिमा व्यवसाय तथा लघु जीवन बिमा व्यवसाय गर्ने बीमकले आफ्नो प्रत्येक पोर्टफोलियोको जीवन बिमा कोष र उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम लगायतका अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग अलग व्यवस्थापन गर्नुपर्ने,

(१२) बीमकले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्रप्राप्त बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार विकास बैङ्कको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअर मार्क गर्नुपर्ने,

(१३) बीमकले प्रत्येक त्रैमास समाप्त भएको सात दिनभित्र लगानीको विवरण IRMIS पोर्टल मार्फत प्राधिकरणमा पेश गर्नुपर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button