तपाईँ सुन्दै हुनुहुन्छः

दुई लाख क्युसेक नाघ्यो महाकाली नदीको बहाव 

कञ्चनपुर । अविरल वर्षासँगै महाकाली नदीको बहाव लगातार बढ्दै गएको छ । 

सोमबार बिहान १० बजे कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने अपराह्न ४ः४० बजेसम्म बढेर २ लाख ७१० क्युसेक पुगिसकेको छ । पानीको तीव्र बहावका कारण नेपाल–भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

नदीमा पानीको बढ्दो बहावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रहरीले सार्वजनिक सूचना जारी गरेका छन् । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न र नदी नजिक नजान सुरक्षा निकायहरूले अनुरोध गरेका छन् । अझै बहाव बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पनि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ । 

उहाँका अनुसार पटराखल्ला, रामपुरे टापु, जर्गाटोल, सुन्दरनगर, १८ नं. पिलर, शान्तिटोल, कुतियाकबर, बैतिफाँटा र गैरीबारे टोलका बासिन्दाले तोकिएका विद्यालयलगायत सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button