तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङको जमिनमा बिचौलिया

चितवन I चितवनको पहाडी क्षेत्रमा जमिनको मूल्य बढ्दै गएपछि चेपाङ समुदायको बाहुल्यता भएका सो क्षेत्रमा बिचौलियाहरूले प्रलोभनमा पारी जमिन खरिद गर्न थालेका छन् ।

खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै गएपछि  बिचौलियाहरूले जमिन खरिदबिक्री गर्न थालेका हुन् ।

चेपाङ समुदायसँग आफ्नो नाममा थोरै जमिन मात्रै हुने नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका संविधानसभा सदस्य गोविन्दराम चेपाङले बताउनुभयो । उहाँले २० प्रतिशत चेपाङसँग मात्रै आफ्नो नाममा जमिन भएको जनाउँदै बाँकी ८० प्रतिशत ऐलानी र अरूको जमिनमा खेती गरी जीविकोपार्जन गर्ने गरिएको उल्लेख गर्नुभयो । 

पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा घडेरी किन्ने लहर चलेको छ । खानी, प्राकृतिक सुन्दरता, अनुकूल मौसमलगायत कारणले ग्रामीण क्षेत्रका जमिनको मूल्य बढ्दै गएको सङ्घका केन्द्रीय अध्यक्ष चेपाङले बताउनुभयो । तराईमा बढ्दो गर्मी र नजिकै पहाडमा शीतलताले पाइने भएकाले पनि पहाडी क्षेत्रमा जमिनको मूल्य बढेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो समय दुई जनाको जमिन प्रलोभनमा पारेर ठगी गरिएको भन्दै सङ्घमा निवेदन परेको छ । यसका अतिरिक्त ‘तिम्रो जमिनमा आफैँ बस्न र खेती गर्न पाउँछौँ’ भन्दै प्रलोभनमा पारेर जग्गा पास गर्ने प्रचलन बढ्दो रहेको उहाँले बताउनुभयो । 

“चेपाङ समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर र धादिङमा मात्रै ४४ ठाउँमा खानी दर्ता भएको तथ्याङ्क छ । कालिका नगरपालिका–९ मा मात्रै नौ वटा चुनढुङ्गा खानी दर्ता भएका छन्”, सङ्घका अध्यक्ष चेपाङले भन्नुभयो ।

सङ्घका महासचिव शन्तबहादुर चेपाङले बिचौलियाले यहाँ जमिनको प्रचलित मूल्यभन्दा धेरै सस्तोमा किनबेच गर्ने गरेका पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा फिर्ता हुन्छ भन्दै पास गर्नेहरू पनि भेटिएका छन् । तर ती जमिन तीन–चार तहमा बिक्री भएर गइसकेको फेला परेका छौँ ।”

सङ्घका चेपाङका अनुसार चितवनमा ३५ हजार ६३७ जनसङ्ख्या यो समुदायको छ भने देशभर ८४ हजार ३६४ छ । चितवनको कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–१०, ११, १२ र १३, इच्छाकामना गाउँपालिकाका–१, २ र ६ वडामा चेपाङ जातिको बाहुल्यता छ ।

गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, मकवानपुरको राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा चेपाङको बाहुल्यता छ । यस्तै धादिङको बेनिघाट रोराङ, थाक्रे र गजुरीमा चेपाङ बसोबास रहेको उहाँले जानकारी दिनुभयो ।

सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले खानी क्षेत्रमा चेपाङको जमिन भएको भन्दै बिचौलिया र ठेकेदार बसेर जमिनको मूल्य तोक्ने, चेपाङ समुदायसँग सस्तो मूल्यमा किनबेच गर्ने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “यो यो ठाउँमा खानी छ भनेर पत्ता लगाउँछन्, बाहिरै बसेर जग्गाको कारोबार गर्दछन् ।”

यो समस्या बढ्दै गएमा चेपाङ भूमिहीन बन्नेक्रम अझै थपिने उहाँको भनाइ छ । राज्यले भूमिहीन हुनेगरी जग्गा बेच्दै गर्दा यस कार्यलाई विपन्न समुदायलाई ठगिनबाट बचाउनुपर्ने उहाँको माग छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button