भेरी अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी, यस वर्ष मृत्यु शून्यमा झर्यो
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी बनेको छ ।
भेरी अस्पतालले सर्पदंशबाट हुने मृत्यु दरलाई यस वर्ष शून्यमा झार्न सफल भएको छ । पछिल्ला वर्षहरुमा सर्पदंशका कारण अस्पतालमै धेरै बिरामीले ज्यान गुमाउँदै आएकोमा यो वर्ष भने उपचारका क्रममा कसैको मृत्यु हुन नपाउनु चिकित्सकहरुका लागि मात्र नभई सम्पूर्ण समुदायका लागि उत्साहजनक उपलब्धि बनेको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी समेत रहनुभएका इमरजेन्सी विभागका इन्चार्ज डा. सङ्केत रिसालका अनुसार यो वर्षको पछिल्ला तीन महिनामा ४५० जनालाई सर्पले टोकेको तथ्याङ्क छ । ती मध्ये करिब ८० प्रतिशत बिरामीलाई विषरहित सर्पले टोकेको पाइएको छ भने बाँकी २० प्रतिशत बिरामीलाई मात्रै एन्टिस्नेक भेनमु को प्रयोग गरिएको छ ।
‘अस्पतालमा उपचारका क्रममा एक जनाको पनि मृत्यु भएको छैन–‘डा. रिसाल भन्नुहुन्छ–‘तर, दुःखको कुरा के छ भने २ जना बिरामीले अस्पताल पुग्नु अघि ज्यान गुमाइसकेका थिए ।’ भेरी अस्पतालमा ल्याइएका मध्ये एक जना बाँकेको खजुराका ३५ वर्षीय पुरुष र कैलालीकी २२ वर्षीया महिला थिए । तर, अस्पतालमा पुर्याइएको बिरामी भने सुरक्षित हुन सफल भएको उहाँले बताउनुभयो । बिरामी समयमै अस्पताल आउनु, चिकित्सकहरूको उपचार तयारी र व्यवस्थापनलाई सफलतामा प्रमुख कारण मानिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। निराजन सुवेदीले बताउनुभयो ।
नेपालमा करिब ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु छन् । विषालु सर्पमध्ये मुख्य गरी गोमन, करेत र भाइपर तीन किसिमका सर्प धेरै छन् । तराईमा पाइने विषालु सर्पमा कमन करेत, स्पेक्टिकल कोब्रा गोमन सर्प, किङ कोब्रा, रसल भाइपर हुन् भने पहाडी जिल्लामा पाइने सर्पमा ग्रीन पिट भाइपर हुन् ।
प्रतिक्रिया राख्नुहोस्