तपाईँ सुन्दै हुनुहुन्छः

रेसुङ्गा नगरमा ६५ किलोमिटर सडक कालोपत्रे

 गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पछिल्लो तीन आर्थिक वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

 नगरपालिकाले सडक पहुँच सुधार, आवागमन सहजताका लागि निरन्तर रूपमा सडक स्तरोन्नति तथा विस्तारको कामलाई अघि बढाउँदै आएको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २४ किलोमिटर, २०८०/८१ मा १८ किलोमिटर र हालै सम्पन्न आर्थिक वर्ष २०८१/०८२ मा २३ किलोमिटर सडक कालोपत्रे गरिएको हो । सोही अवधिमा १० किलोमिटर सडक ग्राभेल गर्ने कार्य समेत सम्पन्न भएको जानकारी नगरपालिकाले दिएको छ । रेसुङ्गा नगरपालिका ४अर्खलेका विश्वनाथ मरासिनीले सडक कालोपत्रे कार्यसँगै नगर क्षेत्रका बासिन्दालाई आवागमनमा सहजता पाएको बताउँदै नगरपालिकाको प्रयासप्रति सन्तुष्टि जनाउनुभएको छ । बर्सातको समयमा हिलाम्मे हुने, सवारी साधन चलाउन कठिन हुने समस्या सडक सुधारसँगै कम भएको उहाँले बताउनुभयो ।

स्थानीय तहको पछिल्लो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले नगरभित्र १०० किलोमिटर सडक कालोपत्रे गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएका थिए । सोही अनुसार तीन वर्षमा ६५ किलोमिटर काम सम्पन्न भइसकेको छ । बाँकी कामलाई समेत योजनाबद्ध रूपमा अगाडि बढाउने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्व पन्थीले बताउनुभयो । 

सडक पूर्वाधारलाई विकासको मेरुदण्ड मानी काम गरिएको हो । शिक्षा, स्वास्थ्य, कृषि र व्यापार क्षेत्रलाई पनि जोड्ने गरी सडक विस्तार भइरहेको छ । नगरपालिकाले आगामी वर्षहरूमा बाँकी ३५ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिरहेको छ । यसका लागि आवश्यक बजेट सङ्घीय तथा प्रदेश सरकारबाट समेत माग गरिएको छ । रेसुङ्गा नगरपालिकाको सडक विकास अभियानले स्थानीय जीवनशैलीमा सकारात्मक प्रभाव पारेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button