तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा यामसँगै रारामा पर्यटक घट्दा घोडा व्यवसायी सङ्कटमा

मुगु । नेपालको चर्चित पर्यटकीय गन्तव्य रारा ताल निरन्तर वर्षाका कारण सुनसान बनेको छ। आन्तरिक र बाह्य पर्यटकको आगमन घटेपछि यहाँको घोडा चढी व्यवसाय ठप्प छ भने दर्जनौँ होटल–लजहरू पनि खाली भएका छन् । पाहुना नआएपछि होटेलमा घाम तापी बस्नुको विकल्प नभएको पर्यटन राराका पर्यटन  व्यवसायी  डबल बहादुर रोकायाको भनाई छ ।

रारा भ्रमणमा आउने अधिकांश पर्यटक घोडा चढेर ताल वरिपरि घुम्ने परम्परा छ। तर वर्षायाम वर्षा सँगै यात्रु आउन छोडेका छन् । छायाँनाथ रारा–८ झ्यारी गाउँका घोडा व्यवसायी दन्तबिर कामी भन्नुहुन्छ “अघिल्लो वर्ष यतिबेला दैनिक १०–१५ पर्यटक घोडा चढ्थे, अहिले कहिलेकाहीँ मात्र १–२ जना आउँछन्। घोडा दिनदिनै खाली बसिरहेका छन् घोडाको खर्च मात्र बढिरहेको छ ।”

घोडा व्यवसायबाट दैनिक खर्च धान्दै आएका स्थानीय अहिले आम्दानी विहीन भएका छन्। सोही वडाका अर्का व्यवसायी पुष्पराज विकका  अनुसार “सिजनमा एक जनाले दैनिक एक हजारदेखि १५ सय रुपैयाँ कमाइ हुन्थ्यो। अहिले बेरोजगार झैँ भइयो। लामो समय यसरी पर्यटक नआए जीविकोपार्जनमा ठुलो सङ्कट पर्छ।”

रारा क्षेत्रमा हाल झण्डै १०० घोडा व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन् । रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रिसिकेश यादवका अनुसार, नयाँ आर्थिक वर्षदेखि भदौको पहिलो हप्तासम्म जम्मा १०० आन्तरिक पर्यटक मात्र रारा पुगेका छन्। उनको भनाइमा, “वर्षा याम सकिएर मौसम सुधारिएपछि पर्यटक आगमनमा फेरि वृद्धि हुने आशा छ।” रारा राष्ट्रिय  निकुञ्जको तथ्याङ्क असार  गत  आर्थिक वर्षमा १७ हजार २ सय ९७ जना पर्यटकहरू रारा घुम्न  आएका थिए । ४७ लाख ५७ हजार ५ सय ९६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

स्थानीय पर्यटन व्यवसायीले सरकारसँग पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन माग गरेका छन्। उनीहरूको भनाइमा, राराको सुन्दरतालाई प्रचार–प्रसार गर्ने र भौतिक पूर्वाधार सुधार गर्ने खालका पहल भए मात्रै यहाँको पर्यटन पुनः जीवन्त हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button