तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीले कुटपिट गर्दा दुई युवा घाइते

बाँके। बाँकेको खडैचामा सशस्त्र प्रहरी जवानको कुटपिटबाट दुई युवा घाइते भएका छन्।

डुडुवा गाउँपालिकाका अनुसार राति करिब १२ बजे मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरी सुमन चौधरीसहित दुई जनाले सडकछेउमा घुम्ती पसल राख्ने सन्जु तेलीलाई चोरी भएको भन्दै फोन गरेर बोलाइ, उनलाई र उनका दाइ दुबर तेलीलाई कुटपिट गरेका हुन्। कुटपिटमा सन्जुको हात भाँचिएको छ भने दुवैको शरीरमा चोट लागेको छ।

घटनापछि दुवैलाई सशस्त्र प्रहरी पोष्ट खडैचा लगेर राखिएको थियो। आक्रोशित स्थानीयले पोष्ट घेराउ गरेपछि युवाहरूलाई रिहा गरिएको हो।

स्थानीयले खडैचामा मादक पदार्थ सेवन गर्ने प्रहरीबाट बेला–बेला कुटपिट र धम्की पाउने गरेको गुनासो गरेका छन्।

सशस्त्र प्रहरी बाँकेका प्रहरी उपरीक्षक शोभकान्त खनालले घटनाको छानबिन गरी दोषीलाई विभागीय कारबाही गर्ने बताए। डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले दोषीलाई कारबाही र घाइतेको उपचारको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button