विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
चितवन । चितवनको सौराहामा मङ्गलवार हात्तीलाई वनभोज खुवाइएको छ । १४औँ विश्व हात्ती दिवसको अवसरमा यहाँका ६० वटा हात्तीलाई मिष्टान्न भोजनको रूपमा वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रूपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, फर्सी लगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाले जानकारी दिनुभयो ।
हात्तीको पर्वको रूपमा लिएर सौराहाका व्यवसायीहरूले हात्ती दिवस मनाएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोजको उद्घाटन गर्नुभएको थियो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्थाका अध्यक्ष खतिवडाले बताउनुभयो ।

धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबिचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्त्वपूर्ण रहेको अध्यक्ष खतिवडाको भनाई छ ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले जङ्गली हात्ती र निजी हात्तीको अन्तरसम्बन्धले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उहाँले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताउनुभयो । नेपालमा करिब ४०० को हाराहारीमा हात्ती रहेको अनुमान छ ।
चितवनमा सरकारी ६० वटा र निजी स्तरमा ४५ वटा हात्तीहरू छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वन, क्षेत्रीय होटेल सङ्घ चितवन सौराहा, रेवान सौराहा, ग्रिन सोसाइटी नेपाल र रत्ननगर वडा नं ४,५,६,७ र ८ वडा कार्यालयको सहयोगमा हात्ती दिवस मनाइएको हो । सो अवसरमा बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वनका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको कार्यक्रम संयोजक मालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्