प्रतिनिधि सभाको बैठक : सांसदहरूद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आरक्ष पीडितको समस्या समाधान, कारागार व्यवस्थापन, महिला र बालिकामाथिको हिंसा न्यूनीकरण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरूले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू र कञ्चनपुरका आरक्ष पीडितहरूको जग्गा सम्बन्धी समस्या समाधान गर्न गठन गरिएका आयोगहरूको सिफारिस तत्काल लागू गर्न माग गर्नुभयो ।
सांसदहरूले महिला र बालिका माथिको हिंसा बढ्दो क्रममा रहेको र सार्वजनिक स्थल तथा कार्यक्रमहरूमा समेत छोरी चेली सुरक्षित नरहेको भन्दै महिला र बालबालिकाको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले साउन २२ गते दैलेख जिल्लाको चामुण्डा नगरपालिकाकी १३ वर्षीय बालिका तीज पर्वको कार्यक्रम हेरेर घर फर्किने क्रममा सामूहिक बलात्कृत भएको विषयमा ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गर्नुभयो ।
सांसदहरूले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा लगातार जसो झडप लगायतका घटनाको बढेको भन्दै कारागार सुरक्षा र मानव अधिकारको रक्षाको माग गर्नुभयो ।
सांसदहरूले मनसुनी वर्षका कारण देशैभरि बाढी पहिरोका कारण नुवाकोट लगायतका विभिन्न स्थानमा रहेका बस्तीहरू जोखिममा रहेको भन्दै तत्काल उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो ।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन ।
प्रतिक्रिया राख्नुहोस्