मुसिकोटमा ‘एक घर एक धारा’ कार्यक्रमबाट ८५ प्रतिशत घरधुरीमा खानेपानी
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले खानेपानी पहुँच विस्तार गर्ने अभियान अन्तर्गत ’एक घर एक धारा’ कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
हालसम्म नगरपालिकाका करिब ८५ प्रतिशत घरधुरीमा सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा खानेपानीको अभाव रहेका बस्तीहरूमा स्वच्छ खानेपानी पुगेको छ । खानेपानीको सहज पहुँच पुर्याउन नगरपालिकाले अग्ला अग्ला स्थानहरू लिफ्ट प्रविधिको प्रयोगमार्फत समेत खानेपानी आपूर्ति गर्दै आएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ पौदी अमराईकी भूमि थापालाई पहिले लिफ्ट प्रविधिबाट पानी नआउँदा निकै दुःख भोग्नुपरेको बताउनुहुन्छ । तर अहिले नगरपालिकाले घरघरमा खानेपानी पुर्याएपछि सहज भएको उहाँको भनाई छ । यसरी नगरपालिकाले दुर्गम र उच्च भू–भागमा रहेका बासिन्दालाई ठूलो राहत मिलेको स्थानीय थापाको भनाई छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १ बालुवाका मिलन थापालाई पहिले विभिन्न स्थानमा बिहान–बेलुका टाढाबाट गाग्री बोकेर पानी ल्याउनु पर्थ्यो । तर अहिले घरमै धारा जडान भएपछिसहज भएको बताउनुहुन्छ । यसबाट सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको उहाँको भनाई छ । दैनिक पानी बोक्ने झन्झटबाट मुक्ति मिल्नुका साथै स्वच्छ खानेपानीले स्वास्थ्यसम्बन्धी जोखिम पनि कम भएको थापाको भनाई छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले विभिन्न वडाहरूमा गरेर २२ वटा साना तथा ठूला खानेपानी योजनाहरू कार्यान्वयनमा ल्याएको थियो । ती योजनामार्फत थप ३३० घरधुरीमा खानेपानीको धारा जडान गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो । खानेपानी हरेक नागरिकको आधारभूत आवश्यकता हो भन्ने मान्यताका साथ यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरप्रमुख खरेलले बताउनुभयो ।
नगरपालिकाले बाँकी घरधुरीमा समेत यो कार्यक्रम पु¥याउने योजना अगाडी सारेको छ । नगरले आगामी वर्षहरूमा थप योजनाहरू अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्