तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक २०८२ मा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन सामान्य भाषिक सम्पादन बाहेक सारभूत रूपमा भिन्नता नरहेकोले संशोधन सहित विधेयक स्वीकार गर्नु उचित हुने बताउनुभयो ।

यस्तै प्रतिनिधि सभाका आजको बैठकले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयकलाई समयसापेक्ष बनाउँदै खोज अनुसन्धान र अन्वेषणको क्षेत्रलाई प्रोत्साहन र विस्तार गर्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २७ गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button