एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा आमाछोरा प्रतियोगीको रुपमा सहभागी हुँदै
सिन्धुपाल्चोक । एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा आमाछोरा दुवैले सँग-सँगै प्रतिनिधित्व गरेको घटना विरलै पाइन्छ । अझ एशियाली प्रतियोगिताहरूमा त कुनै रेकर्ड नै छैन । तर यसपटकको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा भने पावर लिफिटङ खेलाडी आमा झरना योञ्जन र छोरा अंकित योञ्जन दुवैले प्रतियोगीको रुपमा सहभागिता जनाउँदै छन् ।
एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ का लागि नेपालको तर्फबाट औपचारिक रूपमा छनोट भएपछि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका ३ धारपा निवासी आमा झरना र छोरा अंकित दुवैजनाले सहभागिता जनाउन लागेका हुन् ।
अङ्कितले यूथ १८ वर्ष मुनिको समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ भने झरनाले महिलातर्फ ५८ केजी तौल समूहमा सहभागिता जनाउनु हुनेछ । गत वैशाख ६ गते सम्पन्न बागमती प्रदेश स्तरीय प्रतियोगितामा समेत अङ्कित र झरनाले पदक हात पारेका थिए । उक्त प्रतियोगितामा अङ्कितले १८ वर्ष मुनि समूहमा पहिलो स्थान हासिल गर्नु भएको थियो ।

झरनाले भने ६३ केजी मुनिको समूहमा दोस्रो स्थान हासिल गर्नुभएको थियो । साथै यसभन्दा अगाडि पनि झरनाले विभिन्न प्रतिस्पर्धाहरूमा सहभागी भई पदकहरू प्राप्त गरिसकेको उनका श्रीमान् हेम योन्जनले जानकारी दिनुभयो । पहिलोपटक एउटै परिवारका आमा र छोरा अन्तर्राष्ट्रिय स्तरको पावर लिफ्टिङ मञ्चमा देखिने कुरा मात्र नभइ पदक जित्ने लक्ष्यका साथ आफूहरू तयारीमा जुटेको आम झरना बताउनुहुन्छ ।
(NYFC Nepal / World Powerlifting) एनवाइएफसी नेपाल, वर्ल्ड पावर लिफिटङको सहकार्यमा हुन लागेको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्पूर्ण एसियाका उत्कृष्ट खेलाडीहरू एकै मञ्चमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता यही साउन ३०, ३१ र भदौ १ गते काठमाडौँस्थित नेपाल पुलिस क्लबमा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्