श्रृखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लामा श्रृखलाबद्ध बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको आठ स्थान, सुनसरीमा १२ र झापामा २ गरी २२ वटा ट्रान्सफर्मर श्रृखलाबद्ध रूपमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । चोरीका घटनामा संलग्न १२ जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रमुख डिआइजी ईश्वर कार्कीले जानकारी दिनुभयो ।
कार्यालयद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलन डिआइजी कार्कीले ट्रान्सफर्मर चोरी गर्ने सात जना र चोरीका समान खरिद गर्ने पाँच जना जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङ र सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । तिन वटा जिल्लामा श्रृखलाबद्ध चोरी भएका २२ वटा ट्रान्सफर्मर चोरी हुँदा विद्युत् प्राधिकरणलाई झन्डै २ करोड मूल्य बराबरका क्षति भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यसरी श्रृखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी हुँदा विद्युत् सेवा अवरुद्ध भएपछि मटरबाट सिचाई गर्दै आएका किसानहरूलाई समस्या हुँदै आएको थियो ।
प्रतिक्रिया राख्नुहोस्