गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको व्यवस्था गरिएको छ । हरेक वर्ष साउनको एकादशीदेखि जनैपूर्णिमासम्म गोसाइँकुण्ड मेला भर्न जाने प्रचलन रहेबमोजिम त्यसतर्फ जानेक्रम सुरु भएको छ ।
धुञ्चेका युवा समूहमार्फत भक्तजनका लागि निःशुल्क तातोपानीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको सो कुण्डमा स्नान तथा पूजाआराधना गरे जानअन्जानमा गरिएका पापबाट मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
अहिले तीर्थयात्रुको धुन्चे हुँदै त्यसतर्फ जाने क्रम सुरु भएको र यस वर्ष जनैपूर्णिमाका दिनसम्म यस वर्ष १५ हजार तीर्थालु भक्तजनले पवित्रकुण्डको स्नान गर्ने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिनुभयो ।
अध्यक्ष डिएमका अनुसार गोसाइँकुण्ड यात्राका क्रममा धुञ्चेदेखि खन्तिसम्मको अप्ठ्यारो पैदलबाटो मर्मतसम्भारसहित सरसफाइ गरिएको, खानेपानीको व्यवस्था मिलाइएको, ठाउँठाउँमा अस्थायी आवासको प्रबन्ध गरिएको, गोसाइँकुण्डसहित बाटोमा पर्ने बुद्धमन्दिर, चोलाङपाटी, चन्दनबारी, देउराली, तिवारी बगर र धुञ्चे क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको र शान्ति सुरक्षासहित अन्य अत्यावश्यकीय सामग्रीको समेत प्रबन्ध गरिएको छ ।
यसैगरी, गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, पञ्चधाम समिति, काठमाडौँस्थित ग्रिनसिटी अस्पताल र गोसाइँकुण्ड गाउँपालिका तथा अन्य स्थानहरूमा रसुवा जिल्ला अस्पतालसहित जिल्ला आयुर्वेदिक औषधालय, नेपाली सेनाले यात्रुलाई उपचार सेवा दिने व्यवस्था प्रबन्ध गरिएको छ ।
यसैबीच रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म ठाउँठाउँमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क भई तीर्थयात्रा गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर मल्लले उच्च स्थानमा रहेको चिसो कुण्डमा स्नान गर्नेक्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ । अहिले वर्षा भइरहे पनि काठमाडौँ र पृथ्वीराजमार्गको गल्छीदेखि नुवाकोटको त्रिशूली बजार हुँदै धुन्चेसम्मको सडक मार्गमा कुनै अवरोध नभएको र धुन्चेदेखि करिब चार किलोमिटर पैदल बाटो आवश्यक मर्मतसहित सरसफाइ गरेकाले ढुक्क भई मेला भर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले सबैसँग अनुरोध गरेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्