तपाईँ सुन्दै हुनुहुन्छः

अरुण तेस्रो जलविद्युत परियोजना विकासका लागि प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अरुण तेस्रो जलविद्युत परियोजना विकासको लागि प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्बा गुरुङले अरुण तेस्रो जलविद्युत परियोजना विकासको लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबिच भएको सम्झौता बमोजिम डा.पवनकुमार श्रेष्ठ, डा पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने निर्णय भएको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको सम्झौताको एमसीसी फण्डीङ विषयक कार्यान्वयन पत्र स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका निर्माण वा सेवा प्रदायक कम्पनीको एमसीसी फन्डीङ र नेपालको योगदानसमेतबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको पनि सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

सञ्चार मन्त्री गुरुङले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, चुलु सुदूर पूर्व चुली हिमाल आरोहणका लागि खुला गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको सर्त त अन्य सुविधा तोक्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा चितवनका अनिल राज पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै मन्त्रिपरिषद् बैठकले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२, राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पाँचौँ संशोधन नियमावली २०८२ स्वीकृत गर्ने लगायत निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button