राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छ : कावा प्रधानमन्त्री सिंह
गण्डकी । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा बुझेका र योगदान गर्न सक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने उहाँको भनाइ छ ।
पार्टीबाट लिनेभन्दा पनि योगदान गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उहाँले जिम्मेवारी र इमान्दारिता आत्मसात् गर्न सक्ने व्यक्तिलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली काँग्रेस र नेकपा (एमाले)को वर्तमान गठबन्धन सरकार समय परिस्थितिले गठन भएको उल्लेख गर्दै उहाँले सरकारमा जानु भनेको जनताका एजेन्डा उठान गर्नका लागि भएको धारणा राख्नुभयो ।
पार्टीलाई नियम सङ्गत ढङ्गले संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी बलियो भयो भने पार्टीका स्थापनाकालीन सपनालाई पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।
हरेक प्रजातान्त्रिक आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्नु जरुरी भएको उहाँको भनाइ छ । हामीले परिवर्तनबाट प्राप्त गरेका अधिकारको मूल्य बिर्सन नहुने बताउँदै उहाँले मूल्यमान्यताको राजनीतिबाट विमुख बन्न नहुने बताउनुभयो ।
नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई बिर्सँदै जाँदा पार्टी सङ्गठन कमजोर बनिरहेको बताउनुभयो । पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढङ्गबाट सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्