बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि दाबी आह्वान
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले साउन १८ गते पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६९ (१) (क) बमोजिम लामा तामाङको राजीनामा सोमबार स्वीकृत गर्नुभएको हो।
मुख्यमन्त्रीको पद रिक्त भएपछि संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी आह्वान गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै इच्छुक सदस्यहरूलाई साउन २० गते मंगलबार दिउँसो २ बजेसम्म समर्थनका प्रमाणसहित दाबी पेश गर्न आह्वान गरेको छ।

प्रतिक्रिया राख्नुहोस्