बडिमालिका तीर्थयात्रा प्रारम्भ साउन २३ मा मेला लाग्ने
बाजुरा । बाजुरामा अवस्थित नेपालकै सु-प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बडिमालिका यात्रा प्रारम्भ भएको छ।
जनैपुर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात् साउन २३ गते लाग्ने भव्य पूजा एवम् मेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा भारतको बिहार लगायत क्षेत्र बाट पर्यटक तथा तीर्थयात्री त्यसतर्फ प्रस्थान गर्ने क्रम बढेको छ। करिब २ हप्ता अगाडि देखिनै बडिमालिकामा भ्रमण एवम् पूजाआजा गर्ने पर्यटकहरूको सङ्ख्यामा समेत ह्वात्तै वृद्धि भएको छ।

डोटी,जुम्ला,कालिकोट,धनगढी लगायत ठाउँ बाट डोली सहितको सरकारी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ भने ।बाजुरा बाट मङ्गलवार सरकारी पूजा सहितको टोली बडिमालिका प्रस्थान गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । पूजा आरधनालाइ व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न जिल्ला बाट नेपाल प्रहरी ,नेपाली सेना,सशस्त्र प्रहरी गरी करिब एक सय जना सुरक्षा कर्मी बडिमालिकामा खटिने गरी प्रस्थान गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारिले जानकारी दिनुभयो ।

साथै नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराले बडीमालिकामा लाग्ने मेलाको अवसरमा निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गर्ने भएको छ । सेनाले २१ गते देखी २४ गते सम्म त्रिवेणी र बडीमालिका मन्दिर परिसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने ईश्वरीबक्स गुल्म बाजुराका गुल्मपती सेनानी कृष्ण तिमिल्सेनाले बताउनुभयो । हरेक वर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीको दिन लाग्ने मेला यस वर्ष साउन २३ गते लाग्ने छ ।
करिब ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्रामा कमी हुने भएकाले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि नेपाली सेनाको ईस्वरीबक्स गुल्म बाजुराले स्वास्थ्य शिविर सञ्चालन गर्ने गुल्मपती तिमिल्सेनाले जानकारी दिनुभयो ।

धार्मिक आस्थाको धरोहर बडीमालिकामा मेला नजिकिएसँगै दर्शनका लागि तीर्थालु भक्तजनहरूको घुइँचो लाग्न थालेको छ । नेपाली सेनाले यसै वर्ष निर्माण गरेको बडिमालिकाको कलात्मक मन्दिरका कारण समेत भक्तजन एवम् पर्यटकहरूको सहभागितामा उल्लेख्य वृद्धि हुने विश्वास लिइएको छ। बडिमालिका लाग्ने मेलाको अवसरमा जिल्लास्थित पालिका हरुले सार्वजनिक बिदा समेत दिने गरेका छन्। त्रिवेणी नगरपालिकाले साउन २१ देखि २३ गते सम्म पालिका भर ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
प्रतिक्रिया राख्नुहोस्