बाँकेको मटेहियामा डुबान: ११ घरमा क्षति
बाँके । आइतबार बिहानदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटेहियामा डुबानको अवस्था सिर्जना भएको छ। लगातारको वर्षाले पानीको निकास बन्द हुँदा ११ घर र गोठहरू डुबानमा परेका छन्।

स्थानीय ज्ञान कनौजियाका अनुसार डुबानमा परेका घरहरूमा भुजई यादव, भुसैली दर्जी, सलिम दर्जी, विनोद मौर्यलगायतका परिवार बस्दै आएका थिए। घरभित्र पानी पस्दा खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री भिजेका छन् भने बस्न नसक्ने अवस्था भएको पीडित भुजई यादवले जानकारी दिनुभयो। डुबान प्रभावितका स्थानीयवासीहरू असुरक्षित अवस्थामा बसिरहेका छन् भने थप क्षतिको जोखिम कायम रहेको छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले डुबानको जोखिम अझै बाँकी रहेको भन्दै सबै पालिकावासीलाई सतर्क रहन आग्रह गर्नुभएको छ। “बाढी वा डुबानको सङ्केत देखिएमा तत्काल सूचना दिनुहोस्, सुरक्षित उच्च स्थानमा जानुहोस्,” अध्यक्ष शाहले भन्नुभयो।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यस वर्ष बाँके जिल्लाका करिब १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा पर्न सक्ने अनुमान गरिएको छ। समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सबै स्थानीय तहलाई सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
डुबान प्रभावित क्षेत्रको तत्काल उद्धार र राहतमा सरकार तथा सरोकारवाला निकायको ध्यान जानु आवश्यक देखिएको छ।
प्रतिक्रिया राख्नुहोस्