तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । 

काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका केन्द्रीय सदस्यहरूको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको हो । 

पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद चौधरीले बताउनुभयो । 

यसैबीच पार्टीको अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने पार्टी विधान विपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “मलाई जानकारीसमेत नदिई राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ । यो विधान विपरीत हो । अब मैले कानुनी उपचार खोज्छु ।”

लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी रेशम पत्नी रञ्जितालाई बुधवार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो । विसं २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएका बेला उहाँकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । 

जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशनबाट रेशम पार्टीको अध्यक्ष बन्नुभएको थियो । यद्यपि, निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो । रेशम निर्वाचन आयोगको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालत जानुभयो । हाल उक्त मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button