सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। यस प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दैछ।
प्रदेश सचिव देवबहादुर बोगटीका अनुसार, आज साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह विश्वासको मत लिन लाग्नुभएको हो। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्री शाहले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्तिले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
यसैबीच, नेपाली काँग्रेस र नेकपा एमाले प्रदेश संसदीय दलले आज बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित रहन र मुख्यमन्त्रीले लिने विश्वासको मतका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्। मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नका लागि कम्तिमा २७ जनाको समर्थन आवश्यक पर्छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ (एक निलम्बन), राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्