तपाईँ सुन्दै हुनुहुन्छः

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन नबनेसम्म सङ्घीय संसद्मा विरोध जारी राख्ने रास्वपाको निर्णय

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सङ्घीय संसद्मा विरोध जारी राख्ने निर्णय गरेको छ । बुधवार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको नाममा फैलिएको भ्रष्टाचार र बेथिति गम्भीर भएको निष्कर्ष निकाल्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको हो ।

पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकले सदनमा जारी आन्दोलनलाई अझ व्यापक बनाउँदै आवश्यक परेमा सडक सङ्घर्ष पनि गर्ने रणनीति तय गरेको छ । “सदनमा मात्र सीमित नभई अब आन्दोलनलाई सडकसम्म विस्तार गर्ने निर्णय भएको छ,” परियारले बताउनुभयो ।

बैठकले भूमि, निजामती सेवा तथा शिक्षा सम्बन्धी विधेयकमाथि संसद्को अधिकार क्षेत्र उल्लङ्घन गर्दै गरिएको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै सांसदहरूलाई सदनभित्र सशक्त आवाज उठाउन निर्देशन दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, पर्यटन क्षेत्रमा देखिएका चुनौती तथा पूर्वाधार विकासको सन्तुलनहीनताजस्ता विषयलाई समेत सदनमा प्राथमिकताका साथ उठाउने निर्णय बैठकले गरेको छ । साथै, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी र प्राविधिक व्यवस्था तत्काल कार्यान्वयन गर्न रास्वपाले सरकारसँग माग गरेको छ ।

बैठकले रुपन्देही ३ को उपनिर्वाचनको तयारीका लागि विशेष योजनाका साथ लाग्ने निर्णय गरिएको हो । प्रमुख सचेतक परियारका अनुसार बैठकले संसदीय दलको नेताका विषयमा केही निर्णय गरेको छैन । रास्वपाले रुपन्देही कारागारमा रहनुभएका सो पार्टीका सभापतिलाई प्रतिशोधका कारण राखिएको भन्दै त्यस विरुद्धको आन्दोलन निरन्तर राख्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button