तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश : काँग्रेसको संस्थागत निर्णयलाई मान्यता दिने एमालेको निर्णय

मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले काँग्रेस संसदीय दलको निर्णयलाई मान्यता दिने निर्णय गरेको छ । 

संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा बुधवार हेटौँडामा बसेको बैठकले काँग्रेस पार्टीसँग सहकार्य भएकाले संस्थागत निर्णयलाई मान्यता दिने निर्णय गरेको हो ।

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै एमालेले पछिल्लो राजनीतिक घटनाक्रम, दलगत समीकरण तथा बागमती प्रदेश सरकारको स्थायित्वबारे विभिन्न निर्णय गरेको छ । 

बैठकले काँग्रेस संसदीय दलभित्र देखिएको नेतृत्व विवादलाई उक्त दलको आन्तरिक प्रक्रिया भन्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने स्पष्ट नीति लिने जनाएको छ । काँग्रेसभित्र उत्पन्न विवाद प्रजातान्त्रिक प्रक्रियामार्फत छिटो समाधान होस् भन्ने सुझाव दिँदै एमालेले उक्त विषयमा कुनै अभिव्यक्ति वा क्रियाकलाप नगर्ने निर्णय समेत गरेको छ ।

बैठकले पछिल्लो दिनहरूमा सामाजिक सञ्जाल र केही माध्यमबाट काँग्रेस दलभित्रको समीकरण परिवर्तन गर्न एमाले मन्त्रीहरूको भूमिका रहेको भन्दै गरिएको प्रचारप्रति आपत्ति जनाउँदै एमाले मन्त्रीहरू समीकरण परिवर्तनमा संलग्न छन् भन्ने आरोपहरू पूर्णतः आधारहीन, निराधार र असत्य नरहेको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

त्यस्तै बैठकले हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको नवौँ बैठकमा भएका निर्णयहरूलाई पूर्ण समर्थन गर्दै ती निर्णयहरूको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । भने, सङ्गठनात्मक अनुशासन, विचारको स्पष्टता र रणनीतिक एकतामा जोड दिँदै अगाडि बढ्ने निर्णय गरेको छ । 

बैठकले कृषिको मुख्य सिजनमा बजारमा देखिएको रासायनिक मलको अभावलाई गम्भीर रूपमा लिँदै सङ्घीय सरकारसँग तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको छ । भने, नेकपा एमाले बागमती प्रदेश संसदीय दलले लोकतान्त्रिक मूल्य, स्थायित्व, सुशासन र जनताको हितमा अग्रसर भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button