त्रिशूली नदीमा तिब्बतबाट आएको बाढीले खतरा बढायो, स्थानीयलाई सतर्क रहन आग्रह
नुवाकोट । चीनको तिब्बत क्षेत्रबाट आज बिहानदेखि आएको बाढीका कारण त्रिशूली नदीमा पानीको सतह अत्यधिक बढेको छ ।

नदीमा पानीको बहाव तीव्र भएपछि त्रिशूली नदी आसपासका क्षेत्रमा क्षतिको जोखिम उच्च हुँदै आएकाले सतकर्ता अपनाउन प्रशासनले आग्रह गरेको छ ।नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँको अनुसार बाढीले जिल्लाको पैरेवेशीँ, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानमा कटान गर्दै बस्तीतर्फ लागेकाले सुरक्षित रहन भनिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले माइकिङ गरेर नदी आसपासमा भएका घरका परिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न भनिएको छ ।बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा थप क्षति पुर्याएको छ ।
यसअघि गत असार २४ गते आएको भन्दा ठुलो बाढी आज आएसँगै पैरेबेसीँमा स्थित सवस्टेशनमा कटान गर्दै थप क्षति पुर्याएको हो ।आज बिहान ३ बजेदेखि तिब्बती क्षेत्रबाट आएको ल्हेन्दे (भोटेकोसी)मा बाढी बहाव बढ्न सुरु भएको हो ।
अहिले पनि पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको रसुवा प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिशूली नदी किनारका क्षेत्रहरूमा डुबान, कटान र भौतिक संरचनामा क्षति बढ्न थालेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न रसुवा र नुवाकोट दुवै जिल्लाको प्रशासनले आग्रह गरेका छन् ।
दुई जिल्लाका स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय उच्च सतर्कतामा रहेको र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो । उहाँको अनुसार नदीको बहाव अझै बढ्ने क्रममा रहेकाले जोखिम क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्