तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध 

काठमाडौँ । मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडक खण्ड छन् ।

त्यसै गरी गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडक खण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी वामी सडक खण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडक खण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा एकतर्फी रूपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button