तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणीमा प्रतिबन्धित सेतो अण्डा, सर्बसाधरणको स्वास्थ्यमा खेलबाड

नवलपरासी,पश्चिम् । भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा भित्रने सेतो अण्डा त्रिवेणी बजारका होटेल तथा स-साना खाजा पसलदेखि किराना पसलमा छ्यापछ्यापती देखिएका छन्।

कानुनी रूपमा यो बन्देज भएपनी प्रहरी प्रशासनको आँखा छलेर अण्डा सीमाबाट नेपाल भित्रने गरेको छ । उसो त यस विषयमा प्रहरी प्रशासन बेखबर भने छैन तर नियमक निकाय मूकदर्शक बनेर बसेका छन् । पर्यटकको आकर्षण रहने, दिनहुँ सयौँ पर्यटक भित्रने त्रिवेणीमा खुलेआम रूपमा प्रतिबन्धित सेतो अण्डा बिक्री भइरहँदा आम पर्यटक एवं उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ । त्रिवेणिमा मात्रै होइन जिल्लाको गोपिगन्ज, परासीदेखि अधिकांश ठाउँमा निर्बाध रूपमा सेतो अण्डा बेचबिखन भइरहेको छ। अनुगमन गर्ने सम्बन्धित नियमक निकायले प्रचारमुखी अनुगमन गरेपनी प्रतिबन्धित सेतो अण्डा बेचबिखनमा रोक लगाउन कसैको ध्यान पुगेको देखिँदैन ।

यसले आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने जोखिम बढेको छ  भने अर्कातिर नेपाली अण्डाको बजार समेत प्रभावित भएको छ। यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरा पालक किसान निराश हुँदै गएका छन् । पटक पटक प्रहरी प्रशासन,स्थानीय तह, सिडिओलाई ध्यानाकर्षण गराई छलफल गर्दा यस विषयमा कसैले चासो नलिएको अण्डा उत्पादक सङ्घ नवलपरासीका पूर्व अध्यक्ष गोविन्द थापाले बताउनुभयो ।

सिडिओ,सहायक सिडिओ,एसपी,डिएसपी सँग पटक पटक छलफलमा बस्यौँ तर चासो लिइएन,हामी अण्डा उत्पादक किसान भारतीय सेतो अण्डा खुलेआम भित्रँदा निकै मारमा छौँ, थापाले भन्नुभयो । रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्बाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ । बेला बेला तस्करहरूसँग प्रहरीको मिलेमतो भएको भन्ने टीकाटिप्पणी भइरहँदा किसानहरूले सेतो अण्डा भित्रनुमा पनि आशङ्का व्यक्त गरेका छन् ।

किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बर्दघाट १४ स्थिति जिसि पोलट्री फर्मका सञ्चालक हरि जिसिले बताउनुभयो । मझौला साइजको अन्डा बल्ल-बल्ल अधिकतम ४ सय ६० मा बेच्नु पर्ने हुन्छ,सेतो अण्डा लगभग दुई सयकै हाराहारी पाइन्छ,अब हामीले कसरी प्रतिस्पर्धा गर्ने जिसिले गर्नुभयो । जिसिको फर्मबाट मासिक झन्डै ८० हजार बढी अण्डा उत्पादन हुने उहाँले बताउनुभयो।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेलासपुरका एसपी सन्तोष रायमाझीले भारतीय सीमाबाट भित्रने अवैध कुखुराको व्यापक रूपमा नियन्त्रण गरीको भएपनी अनेक तवरले लुकाएर ल्याइने सेतो अण्डाको नियन्त्रणमा त्यति उल्लेख काम गर्न नसकिएको बताउनुभयो ।कुखुरा सहितका झन्डै एक सय ओटा मोटरसाइकल हामीले समाएर बुझाएका छौँ,अण्डाको हकमा अनुगमन समिति पनि छ,यदा कदा बजारमा देख्ने पनि गरिन्छ सेतो अण्डा तर त्यति नियन्त्रण चाहिँ भएको छैन,हामीले कोसिसै नगरेको पनि होइन एसपी रायमाझीले भन्नुभयो ।

सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ। जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ सक्ने आम कृषकहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button