सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै काँग्रेस चितवनका पूर्व सभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताउनुभएको छ ।
स्वर्गीय गुरुङले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रजातन्त्र सेनानी, शिक्षा प्रेमी, समाजसेवी एवं निष्ठावान् व्यक्तित्व गुरुङको आज बिहान ८इः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको काँग्रेसले जनाएको छ । गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११इः१५ बजे उहाँको निवास भरतपुर महानगरपालिका वडा नं २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्