‘तानसेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय’
पाल्पा । खानेपानी मन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि पाल्पाको तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताउनु भएको छ ।

आज पाल्पाको तानसेन स्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारण सभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले “पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार” भन्ने अत्यन्तै सान्दर्भिक नारालाई आत्मसात् गर्दै खानेपानीको क्षेत्रमा यहाँका आम नागरिकको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
तानसेन–कालीगण्डकी बृहत् पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पुर्याउँदै सरकारको “सबै नागरिकका लागि स्वच्छ पानी” भन्ने सङ्कल्पलाई व्यवहारमा उतारेको प्रति मन्त्री यादवले खुसी व्यक्त गर्नुभयो ।
खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त बजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी मन्त्री यादवले स्थानीय उपभोक्ता समितिहरूलाई पनि खानेपानीको दिगो व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार, र स्रोतहरूको समुचित उपयोगमा स्थानीय सहभागिताको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री यादवले तानसेन नेपालको इतिहास र सभ्यताको एक जीवन्त स्मारक भएको र श्रीनगर डाँडाको काखमा अवस्थित यो सहर, सांस्कृतिक गौरव, शैक्षिक प्रगति एवं प्राकृतिक सौन्दर्यको सङ्गम नगर भएको बताउनुभयो ।
सबैको साझा प्रयास र समन्वयबाट मात्र “पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार” भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्न कटिबद्ध रहन समेत मन्त्री यादवले सबैमा आग्रह गर्नुभयो ।
मन्त्री यादवले सरकारले तराई–मधेसदेखि विकट पहाडी तथा हिमाली क्षेत्रसम्मका खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयासहरू गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्