तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाकाबाट आव २०८१/०८२ मा २४ अर्ब १३ करोड बढीको खाद्यान्न आयात

बीरगंज ।  मुलुकको प्रमुख भन्सार नाका बीरगंजको आईसिपी भन्सार हुँदै आर्थिक वर्ष २०८१/०८२ मा २४ अर्ब १३ करोड ६० लाख ५५ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । 

बीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १४ करोड ५० लाख ६९ हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा २ अर्ब ४१ करोड ७७ लाख ५३ हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ८ अर्ब १४ करोड ४२ लाख ४७ हजार मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगन्ज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५९ करोड ७८ लाख ८४ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ ४ अर्ब २० करोड ६३ लाख मूल्य बराबरको भित्रिएको छ ।

धान चामल, मकै र गहुँ लगायतका खाद्य सामग्रीबाट वीरगन्ज भन्सारले १ अर्ब ४७ करोड ३७ लाख ४४ हजार राजस्व असुली गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो ।

गत वर्ष २०८०/०८१ मा बीरगंज नाकाबाट २२ अर्ब ५६ करोड २३ लाख १६ हजार मूल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो बापत १ अर्ब १७ करोड ६४ लाख २१ हजार राजस्व असुली भएको भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button