करेन्ट लागेर घाइते दम्पतीको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर घाइते एक दम्पतीको मृत्यु भएको छ ।
घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनु भएका ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार मङ्गलवार करेन्ट लागेर गम्भीर घाइते हुनुभएका आचार्य दम्पतीलाई उपचारका लागि वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको थियो ।
प्रारम्भिक अनुमानमा विद्युतीय मेसिनको तार सर्ट भएर करेन्ट लागेको हुनसक्ने सुर्खेत प्रहरीका सूचना अधिकारी (डिएसपी) मोहनजंग बुढथापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्