राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार: उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार भएको बताउनुभएको छ ।
जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती विषयक विशेष संवादमा उपप्रधानमन्त्री सिंहले आर्थिक रूपान्तरण र समृद्धि हासिल गर्नका लागि प्राप्त अधिकारलाई सुरक्षित गरेर जनतालाई अधिकार सम्पन्न बनाउन लेखाजोखा गरेर कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।
“राजनीतिक स्थायित्व भएन भने विकास हुँदैन, अहिलेको प्रणालीअनुसार दुई वा तीन दल नमिली सरकार बनाउन सक्ने अवस्था छैन । कार्यगत एकताका आधारमा सबैलाई समेट्नुपर्छ भन्ने २०४६ सालमा गणेशमान सिंहले लिएको नीतिअनुसार अहिले गठबन्धन सरकार हुनुपरेको हो । पद्धतिअनुसार देशमा दलहरू चलेको खण्डमा राजनीतिक स्थायित्व आउँछ, आर्थिक नीति सबल हुँदै जान्छन्, अर्थतन्त्रमा सुधार आउँछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले प्रजातान्त्रिक समाजवादका प्रवर्तक बिपी कोइरालामा अत्यन्तै प्रभावशाली नेतृत्व रहेको उल्लेख गर्नुभयो । “बिपीको विचारधारा काँग्रेसले छोड्यो कि भन्ने आवाज उठिरहेको छ, प्रतिकूल अवस्थामा कसैसँग आफ्नो सिद्धान्तमा सम्झौता नगरेको पार्टी नेपाली काँग्रेसले आधारभूत कुरालाई कसैसँग सम्झौता गर्दैन, लोकतान्त्रिक मूल्यमान्यता र आदर्शमा बिपीले कसैसँग सम्झौता गर्नुभएन”, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले २०४६ सालपछि नेपाली काँग्रेसले अवलम्बन गरेको नरम र उदार आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र राम्रो बनाउनका लागि निजी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरेको बताउनुभयो ।
विसं २०४७ को नेपालको अवस्थाबाट अहिले नेपालको अर्थ व्यवस्थामा धेरै परिवर्तन भएको भन्दै यसका लागि नेपाली काँग्रेस जस्तो पुरानो र इतिहास बोकेको गौरवशाली राजनीतिक पार्टीले ठुलो योगदान गरेको प्रष्ट पार्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने गरी विकासका लागि हुने पुँजीगत खर्च वृद्धि हुनका लागि अवरोध गर्ने कानुनलाई यथाशीघ्र संशोधन र परिमार्जन गरेर समाधान गरिनुपर्छ भन्नेमा जोड दिनुभयो ।
काँग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँले बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईको अथक प्रयासले प्रजातन्त्र प्राप्त भएको भन्दै त्याग र योगदान गरेका विद्वत व्यक्ति, नेतृत्वहरूको विश्वासलाई कायम राख्न जनताको अपेक्षाअनुसार काम गर्न लोकतन्त्रवादीहरू एकजुट भएर कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।
बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले गरिबी र पछौटेपनबाट नेपाललाई मुक्त गराउन आर्थिक क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै बिपी कोइरालाले भन्नुभएको जस्तो समाजप्रति उत्तरदायी लोकतान्त्रिक समाजवादलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले नेपालको आर्थिक रूपान्तरणको सम्भावना र चुनौतीका बारेमा चर्चा गर्दै अहिलेको युवा पुस्ताले खोजेको रूपान्तरणका लागि काम गर्न गर्नुपर्ने कार्यहरूको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्