सिमखोलामा बेलिब्रिज जडान कार्य तीव्र, ८० प्रतिशत काम सम्पन्न

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बेलिब्रिज जडानको काम तीव्र गतिमा भइरहेको छ। गत असोजमा आएको भीषण वर्षापछि कुलेखानी ड्याम भरिएर गेट खोल्दा तल्लो भागमा रहेको सिमखोलाको पुरानो पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो।
पुल पुनर्निर्माणका लागि कुलेखानी जलविद्युत् आयोजनाको ड्याम मुनि ५७ मिटर लामो बेलिब्रिज जडानको काम अघि बढाइएको हो। सवारी आवागमन सहज बनाउन हाल सिमखोलामा अस्थायी डाइभर्सन बनाइएको छ।
यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रमुख इन्जिनियर नवीन कुमार सिंहका अनुसार दक्ष जनशक्ति र आवश्यक उपकरणमार्फत हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।
बेलिब्रिज जडानका लागि भैंसे–भीमफेदी सडकखण्डअन्तर्गत घट्टेखोलाको १३ मिटर र मान्डु खोलाको ५० मिटर बेलिब्रिज पुनः प्रयोगमा ल्याइएको हो। ती ठाउँहरूमा हाल पक्की पुल निर्माण भइसकेकाले ती बेलिब्रिज विगतदेखि प्रयोगविहीन अवस्थामा थिए।
गौरव इन्जिनियर्स प्रालिले पुल जडान, पक्की पहुँच मार्ग निर्माण तथा वरपरको सडक मर्मत सम्भारको जिम्मा १ करोड ७९ लाख रुपैयाँमा लिएको छ।
निर्माण कार्य साउन १५ गतेभित्र सम्पन्न गरी सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
प्रतिक्रिया राख्नुहोस्