बाजुरा जिप दुर्घटना : घाइतेको हेलिकप्टर मार्फत उद्धार

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनाका घाइतेहरूलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा गृह मन्त्रालयबाट सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइतेको उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार जिप दुर्घटनाबाट घाइतेहरू मध्ये गम्भीर अवस्था भएका ४ जनालाई पहिलो चरणमा उपचारका लागि सुर्खेत पठाइएको छ । जसमा घाइते चालक गौरी बुढा, बाँचधन रोकाया, राज बहादुर बुढ्थापा र सुरेन्द्र शाहीलाई रेफर गरिएको छ । घाइतेहरूलाई हिमाली गाउँपालिकाको पिलुचौरबाट उद्धार गरिएको हो । घाइते मध्ये मध्यम अवस्था भएकाहरूलाई उपचारका लागि कोल्टी अस्पतालमा ल्याइएको छ । भने बाँकी गम्भीर घाइते ८ जनालाई दोस्रो र तेस्रो चरणमा उद्धार गरिने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
आज बिहान हिलाली गाउँपालिका वडा नम्बर ५ किउडीबाट धुलाचौर जाँदै गरेको जिप टुनिगडामा दुर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ वर्षका गौरी बुढाले चलाएको बा प्र. ०३००१ज ०३३८ नम्बरको जिप कच्ची साँघुरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। भने चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्