प्रधानमन्त्री ओली परबानीपुरमा आउनुहुँदै
वीरगंज। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली साउन ९ गते शुक्रवार बाराको परबानीपुर आउनुहुने भएको छ ।
बारास्थित परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने प्रधानमन्त्री ओली बारा आउन लाग्नु भएको हो ।
भोली दिउँसो २ बजे आयोजना हुने उक्त उद्घाटन समारोहमा नेकपा एमालेका अगुवा, नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहने नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले जानकारी दिनुभयो । यसैबिच, मधेस प्रदेशको ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको ठोरी गाउँपालिकाको लागि तय गरिएको प्रधानमन्त्री ओलीको बहु प्रतीक्षित भ्रमण भने अन्तिम समयमा स्थगित भएको छ ।
पर्सा जिल्लाको ठोरीमा पनि साउन ९ गते नै आयोजना हुने ‘निर्मलबस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली आउने कार्यक्रम रहे पनि उहाँको राजनीतिक व्यस्तताका कारण भ्रमण स्थगित भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको आगमनले ठोरीको पर्यटन, पूर्वाधार विकास र राजनीतिक महत्वलाई थप उचाइ दिने अपेक्षा गरिएको बेला अन्तिम समयमा भ्रमण स्थगित भएपछि स्थानीय स्तरमा निराशा छाएको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्